हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सरकारद्वारा घोषणा गरिएको शनिबार–आइतबार दुई दिन सार्वजनिक बिदाबीचको सम्बन्धबारे प्रश्न उठाएका छन्।
सिग्देलले आफ्नो फेसबुकमार्फत प्रतिक्रिया दिँदै पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको अवस्थामा दुई दिन बिदा दिने निर्णयले कस्तो प्रत्यक्ष सम्बन्ध राख्छ भन्ने जिज्ञासा व्यक्त गरेका हुन्। उनले यस्तो निर्णयले स्थानीय तहको कामकाजमा थप समस्या उत्पन्न हुने उल्लेख गरेका छन्।
उनका अनुसार, स्थानीय तहले पछिल्लो समय विभिन्न चुनौती सामना गर्दै आएको छ। जेञ्जी आन्दोलन, त्यसबाट नगरपालिका तथा वडा कार्यालयमा भएको क्षति, पुनःव्यवस्थापन र पुनर्निर्माणको काम अझै पूरा हुन बाँकी छ। त्यसमाथि चाडपर्व र निर्वाचनका कारण विनियोजित विकास योजना कार्यान्वयनमा ढिलाइ भइरहेको उनले बताए।
यस्तै अवस्थामा हप्तामा दुई दिन बिदा लागू गरिँदा कार्यदिन घट्ने र सेवा प्रवाह तथा विकास निर्माणका काममा गम्भीर असर पर्ने उनको भनाइ छ। “पहिले नै विविध कारणले प्रभावित काममा अब थप बिदाले अझ जटिलता थप्ने देखिन्छ,” उनले उल्लेख गरेका छन्।
सरकारले पेट्रोलियम पदार्थको बढ्दो मूल्य र त्यसबाट उत्पन्न आर्थिक दबाबलाई मध्यनजर गर्दै दुई दिन बिदाको निर्णय गरेको भए पनि यसले स्थानीय तहमा पर्ने प्रभावबारे पुनर्विचार गर्नुपर्ने सिग्देलको धारणा रहेको छ।
















