हेटौंडा/ उद्योग वाणिज्य संघ मकवानपुरले सरकारद्वारा शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णयप्रति स्वागत जनाएको छ। संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले जारी गरेको वक्तव्यमा उक्त निर्णय राज्यको मितव्ययिता र प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने दिशामा सकारात्मक कदम भएको उल्लेख गरिएको छ।
संघले सरकारी कार्यालय, बैंकिङ क्षेत्र तथा शैक्षिक संस्थाहरू बिदा रहने भए पनि उद्योग क्षेत्रलाई प्रत्यक्ष असर नपर्ने गरी उत्पादनमूलक गतिविधि निरन्तर सञ्चालन गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेको छ। देशको आर्थिक विकास तथा रोजगारी सिर्जनामा औद्योगिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उद्योग प्रतिष्ठानहरूले आफ्नो जिम्मेवारी बोध गर्दै उत्पादन र सेवा प्रवाहलाई अवरुद्ध हुन नदिनुपर्नेमा जोड दिइएको छ।
यसै सन्दर्भमा संघले सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा निरन्तर जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गरेको छ।















