हेटौंडा/ मकवानपुरको भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजना अन्तर्गत सर्वसाधारणबाट संकलित रकमको पारदर्शितामाथि प्रश्न उठ्दै गएको छ। परियोजनामा भएको भनिएको आर्थिक अनियमितताबारे छानबिनको माग गर्दै सेवा, सहयोग र आवाजमा हामी (SSAH) ले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मा ध्यानाकर्षण पत्र बुझाएको छ।
संस्थाका अध्यक्ष विशालराज महतको नेतृत्वमा गएको टोलीले नेपाल पूर्वाधार विकास कम्पनी मार्फत सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा अघि बढाइएको परियोजनामा आर्थिक अपारदर्शिता र लापरवाही भएको आरोप लगाएको हो। छोटो दूरीमा काठमाडौं–हेटौंडा जोड्ने महत्वाकांक्षी योजनाका रूपमा प्रस्तुत गरिएको उक्त परियोजनाले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने आश्वासनसहित देश–विदेशका नेपालीबाट ठूलो रकम संकलन गरेको बताइएको छ।
ध्यानाकर्षण पत्रअनुसार, करिब ३१ करोडभन्दा बढी रकम उठाइएको भए पनि परियोजनाको प्रगति अपेक्षाअनुसार नदेखिएको र संकलित रकमको स्पष्ट विवरण सार्वजनिक नगरिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। यसबीच, लगानीकर्ताहरू लामो समयदेखि अन्योलमा रहेको र परियोजनासम्बद्ध पक्षहरूबाट पर्याप्त जानकारी नपाएको गुनासो बढ्दै गएको छ।
संस्थाले सर्वसाधारणको लगानी जोखिममा परेको उल्लेख गर्दै तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न, परियोजनाको वास्तविक अवस्था सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही अघि बढाउन माग गरेको छ। साथै, प्रभावित लगानीकर्तालाई रकम फिर्ता वा क्षतिपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।















