हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१५ का अध्यक्ष सुनिल मोक्तानले स्थानीय तहको वर्तमान संरचना र समावेशी प्रतिनिधित्व प्रणालीलाई कमजोर पार्ने कुनै पनि प्रयास दीर्घकालीन रूपमा लोकतन्त्रका लागि हानिकारक हुने भन्दै संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
मोक्तानले नेपालको संविधान २०७२ अनुसार स्थानीय तहमा वडा अध्यक्ष र वडा सदस्यहरूको सामूहिक कार्य प्रणाली रहेको उल्लेख गर्दै वडा सदस्य हटाएर वडा अध्यक्ष मात्रले सम्पूर्ण कार्य सञ्चालन गर्ने अवधारणा व्यवहारिक र कानुनी दुवै रूपमा उपयुक्त नहुने बताएका छन्। उनका अनुसार वडा समिति सामूहिक निर्णय गर्ने प्रमुख निकाय भएकाले सबै सदस्यहरूको सक्रिय सहभागिता आवश्यक हुन्छ। निर्णय प्रक्रियामा सामूहिकता कायम रहँदा मात्र पारदर्शिता, जवाफदेहिता र सन्तुलन सुनिश्चित हुने उनको भनाइ छ।
त्यस्तै, वडा अध्यक्ष अनुपस्थित वा असमर्थ भएमा वडा सदस्यहरूले प्रशासनिक कार्य निरन्तरता दिने व्यवस्था रहेको उल्लेख गर्दै उनले यस्तो संरचनाले स्थानीय सरकारलाई स्थायित्व दिने बताएका छन्। यदि वडा सदस्यहरूको भूमिका हटाइएमा सेवा प्रवाहमा अवरोध, जनताको पहुँचमा कमी र शक्ति केन्द्रीकरणको जोखिम बढ्ने उनले चेतावनी दिएका छन्।
मोक्तानले स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउन वडा अध्यक्षसहित सबै वडा सदस्यहरूको सक्रिय सहभागिता, सामूहिक निर्णय प्रक्रिया र पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिएका छन्। “सिंहदरबार गाउँमै” भन्ने अवधारणालाई व्यवहारमा उतार्न यस्ता संरचनाहरूको संरक्षण अपरिहार्य रहेको उनले बताएका छन्।
यसैगरी उनले वडास्तरमै दलित, महिला तथा अन्य समुदायको अनिवार्य प्रतिनिधित्वको व्यवस्थालाई संविधानले सामाजिक न्याय र ऐतिहासिक असमानता घटाउने उद्देश्यले सुनिश्चित गरेको स्मरण गराएका छन्।
उनका अनुसार समावेशी प्रतिनिधित्व स्थायी नभई समाजमा वास्तविक समानता स्थापित नहुँदासम्म आवश्यक रहने व्यवस्था हो। अझै पनि धेरै समुदाय शिक्षा, राजनीति र आर्थिक अवसरमा पछाडि रहेकाले अहिले नै यो व्यवस्था हटाउनु उपयुक्त नहुने उनको भनाइ छ। अन्त्यमा, मोक्तानले समानता स्थापित नभएसम्म समावेशिता आवश्यक रहने र प्रतिनिधित्वबिना लोकतान्त्रिक अधिकार अपूर्ण हुनेमा जोड दिएका छन्।
















