हेटौंडामा ‘सडक खाना महोत्सव २०८२’ सुरु, चार दिनसम्म विविध परिकारको स्वाद

Image

हेटौंडा । मकवानपुर होटल एसोसिएसनको आयोजनामा सडक खाना महोत्सव २०८२ आजदेखि हेटौंडामा औपचारिक रूपमा सुरु भएको छ। महोत्सव पुस १३ गतेदेखि १६ गतेसम्म हेटौंडा उपमहानगरपालिका वडा नं. ४, हुब्राचौरको पूर्वी रोडमा सञ्चालन हुनेछ।

महोत्सवको उद्घाटन आज आइतबार अपराह्न ४:०० हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाले उत्घाटन गर्नु भयो। उद्घाटन समारोहमा सभा अध्यक्ष दिलिश गोविन्द जोशी रहनु भएको थियो भने हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामा ले यस्ता महोत्सवले स्थानीय खानाको प्रवर्द्धन, पर्यटन विकास तथा होटल व्यवसायीहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय उत्पादन र परिकारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
उद्घाटन समारोहमा होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चके विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। त्यस्तै, हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बनियाँ, बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, तथा होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बाल कृष्ण अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, विभिन्न वडा अध्यक्षहरू, पर्यटन तथा विकास समितिका पदाधिकारी, उद्योगी–व्यवसायी, बैंक तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न सडक खानाका परिकार, परम्परागत खाना, पेय पदार्थ तथा सांस्कृतिक झलक प्रस्तुत गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवले हेटौंडालाई खाना पर्यटन (Food Tourism) को गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिएको छ। कार्यक्रम होटेल एसोसिएसन मकवानपुरका उपाध्यक्ष कल्याण पौडेलले समापन मन्तव्य राख्नु भएको थियो।