हेटौँडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको आयोजनामा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, हेटौँडा–११ की वडाध्यक्ष जुना दाहाल, सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, समाजसेवी श्यामकुमार श्रेष्ठ, समितिका सल्लाहकार प्रताप विष्ट, गणेशकुमार श्रेष्ठलगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले चाडपर्वले आपसी प्रेम, सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उल्लेख गर्दै नगरको विकास, सुशासन र सामाजिक रूपान्तरणमा टोल विकास संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।
कार्यक्रममा अध्यक्ष अधिकारीले सहभागी तथा अतिथिहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि, टोल विकास संस्था र नगरवासीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
उनले दसैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।
















