हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशकै उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) ले तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ का अवसरमा प्रदान गर्ने राष्ट्रिय पुरस्कार तथा सम्मानका लागि जनप्रिय माविलाई उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट गरेको हो।
PAN ले नेपालको विद्यालय शिक्षा प्रणालीमा गुणस्तर, नेतृत्व, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष विभिन्न प्रदेशमा राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ। सम्मेलनका अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, शिक्षाविद् तथा सञ्चारकर्मीलाई विभिन्न विधामा सम्मान गर्ने गरिन्छ।
पुरस्कार छनोटका लागि प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले प्राप्त आवेदन, मनोनयन, सिफारिस, उपलब्धि तथा सम्बन्धित प्रमाणहरूको अध्ययन र मूल्याङ्कन गरी विजेताहरू छनोट गरेको PAN ले जनाएको छ।
सम्मेलनका लागि सातै प्रदेशका उत्कृष्ट सामुदायिक माध्यमिक तथा आधारभूत विद्यालय र तिनका प्रधानाध्यापक छनोट गरिएको छ। त्यसैगरी, उत्कृष्ट गाउँपालिका, नगरपालिका, महानगरपालिका तथा उपमहानगरपालिका, राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार र शिक्षा पत्रकारिता पुरस्कारका लागि पनि छनोट गरिएको छ।
PAN ले सार्वजनिक गरेको विवरणअनुसार शिक्षा पत्रकारितातर्फ दिनेश गौतम र मणिका झा तथा शिक्षा विज्ञका रूपमा डा. सुरेश राज शर्मा छनोट भएका छन्। महानगरपालिका तथा उपमहानगरपालिकातर्फ भरतपुर महानगरपालिका छनोट भएको छ।
तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को विशेष समारोहमा छनोट भएका विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, शिक्षाविद् तथा सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने PAN ले जनाएको छ।
PAN ले छनोट भएका सबै व्यक्ति तथा संस्थालाई बधाई दिँदै उनीहरूको नेतृत्व, समर्पण र योगदानले नेपालको शिक्षा प्रणालीमा गुणस्तर, उत्तरदायित्व र सकारात्मक परिवर्तनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।














