हेटौंडा । विश्व अण्डा दिवसको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकाका ३२ वटा विद्यालयका करिब १० हजार विद्यार्थीलाई एकैदिन १० हजार पिस अण्डा वितरण गरिएको छ।
बालबालिका चाउचाउ, कुरमुरे लगायतका जंक फुडमा बढी निर्भर हुँदै गइरहेको अवस्थामा उनीहरूमा अण्डा खाने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मकवानपुर कुखुरा व्यवसायी सङ्घका महासचिव प्रभाकर पुडासैनीले बताउनुभयो।
उहाँले एक दिन अण्डा खुवाउनु मात्र कार्यक्रमको उद्देश्य नभई बालबालिकालाई जंक फुडभन्दा पौष्टिक तथा स्वस्थकर खानालाई प्राथमिकता दिने बानीको विकास गराउनु मुख्य लक्ष्य रहेको बताउनुभयो।














