काठमाडौं ।
भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्स र श्रीलंकाले बराबरी खेलेका छन्। आइतबार कालिङ्गा रंगशालामा भएको खेलमा दुवै टिमले एक-एक गोलको बराबरी खेलेका हुन्।
बराबरीसँगै माल्दिभ्स पनि समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ। समूहका शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधानअनुसार अन्तिम खेलअघि माल्दिभ्सले एक अंक मात्र जोड्न सक्यो।
माल्दिभ्स यसअघि पहिलो खेलमा नेपाल र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो। अब माल्दिभ्सले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ। यता लगातार तीन खेलमा पराजित भएर यसअघि बाहिरिएको श्रीलंका भने अन्तिम खेलमा बराबरी खेल्न सफल भयो।
माल्दिभ्स बाहिरिएको अवस्थामा फाइनल तथा उपाधि होडमा बंगलादेश, नेपाल र भारत बाँकी हुनेछन्। लगातार तीन खेलमा जित निकालेको बंगलादेशको फाइनल यात्रा पक्का जस्तै छ।
लगातार दुई खेलमा जित निकालेको नेपाल पनि फाइनल पुग्ने अभियनामा छ। सुरुवाती दुई मध्ये एक खेलमा जित निकालेको भारत पनि फाइनल पुग्ने लक्ष्यमा छ।
फाइनल यात्राका लागि नेपाल र भारतबीचको आजको खेल महत्वपूर्ण छ। नेपाल र भारत आज साँझ सवा सात बजे भिड्दैछन्। आजको खेलमा नेपाल विजयी भए नेपाल र बंगलादेश फाइनलमा पुग्नेछन् भने भारत र माल्दिभ्स बाहिरिनेछन्।












