हेटौंडा/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमतीलाई कुटपिट गरी अचेत बनाएको आरोपमा प्रहरीले श्रीमान् रमेश पाख्रिनलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मंसिर ११ गते राति रमेश पाख्रिनले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती रुकु पाख्रिनलाई कुटपिट गरेका थिए। कुटपिटपछि अचेत भएकी रुकु घरभित्रको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी फाखेलबाट टोली घटनास्थल पुगेको थियो। प्रहरीले रमेशलाई नियन्त्रणमा लिई घटनास्थल सुरक्षित राखेको जनाएको छ।
थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा सोको (SOCO) सहितको टोली घटनास्थल पुगेको थियो। कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रमेशलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















