चुनावी हारले रोकिएन महतको समाजसेवा, अब हेटौँडाको नेतृत्व गर्ने चाहना

Image

हेटौँडा । पटक–पटक चुनावमा पराजित भए पनि जनताको सेवाबाट आफू कहिल्यै पछि नहटेको बताउँदै सामाजिक अभियन्ता विशाल राज महतले हेटौँडा उपमहानगरपालिकाको मेयर बन्ने चाहना सार्वजनिक गर्नुभएको छ।

सेवा सहयोग आवाज नेपालका अध्यक्षसमेत रहनुभएका महतले पदमा नहुँदा पनि निरन्तर जनताको समस्यामा साथ दिँदै आएको उल्लेख गर्नुभएको छ। हेटौँडा अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिका, मालपोतलगायतका सरकारी निकायमा नागरिकका समस्या लिएर पुग्ने, बिरामीलाई सहयोग गर्ने, अन्यायविरुद्ध आवाज उठाउने र अनियमितताविरुद्ध खबरदारी गर्ने काम आफ्नो दैनिकी बनेको उहाँको भनाइ छ।

चुनावमा हार्नु एउटा परिणाम भए पनि जनताको दुःखमा साथ छोड्नु आफ्नो स्वभाव नभएको महतले बताउनुभएको छ। समाजसेवा पद प्राप्त गर्ने माध्यम नभई जनताप्रतिको जिम्मेवारी भएको उहाँको धारणा छ।

सामाजिक कामका क्रममा दबाब, धम्की, मुद्दा तथा हातपातसमेतको सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले जनताको पीडा देख्दा चुप लागेर बस्न नसकेको बताउनुभएको छ।
अब भने समस्या उठाउने र जनताको गुनासो सुन्ने मात्र नभई समाधान गर्ने निर्णायक जिम्मेवारीमा पुगेर परिणाम दिने चाहना रहेको उहाँले स्पष्ट पार्नुभएको छ।युवा, स्वास्थ्य, शिक्षा, रोजगारी, सार्वजनिक जग्गा तथा वनजङ्गलको उपयोग, पर्यटन प्रवर्द्धन, राजस्व चुहावट नियन्त्रण, करमा सहुलियत, न्यायपूर्ण बजेट र व्यवस्थित नगर निर्माणलाई आफ्नो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ।

युवालाई दुर्व्यसनबाट जोगाउँदै उत्पादन र रोजगारीमा जोड्ने, नगरवासीले आफ्नै नगरमा सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने आफ्नो सपना रहेको महतले बताउनुभएको छ।

आफूसँग पदमा रहेर काम गरेको अनुभव नभए पनि जनताका समस्या बुझ्ने अनुभव, चुनौतीसँग जुध्ने आँट, समन्वय गर्ने क्षमता, इच्छाशक्ति र स्पष्ट योजना रहेको उहाँको दाबी छ। विगतका काम, संघर्ष र कमजोरीको मूल्याङ्कन गर्ने अधिकार जनतामै रहेको उहाँले उल्लेख गर्नुभएको छ।

हेटौँडावासीलाई सम्बोधन गर्दै महतले आफूलाई मेयरको जिम्मेवारीका लागि कुन आधारमा मूल्याङ्कन गर्ने भन्ने प्रश्नसमेत गर्नुभएको छ। उहाँले जनताको साथ, विश्वास, सुझाव र मतको अपेक्षा गर्दै हेटौँडाको भविष्य सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ।
महतको पछिल्लो अभिव्यक्तिलाई आगामी स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने राजनीतिक संकेतका रूपमा हेरिएको छ।