काठमाडाैं ।
अर्थमन्त्री जनार्दन शर्माले विद्यालय कर्मचारीको तलब बढेको बताएका छन् । अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको अन्तर्वार्तामा आर्थिक वर्ष २०७९–८० को बजेट घोषणा गर्दा विद्यालय कर्मचारी र इसीडी शिक्षकको तलबको विषय सम्बोधन गर्न छुटेको संकेत आगामी आर्थिक वर्ष देखि तलब बढेको बताएका हुन् ।
‘बजेट निर्माणको सन्दर्भमा हरेक सरोकारवालाको समग्रको भनाइ र स्वार्थलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । केही न केही छुटेको होला तर मुलभूतरूपमा समेटिएको छ ।’ मन्त्री शर्माले भने, ‘जस्तैः स्थानीय तहका विद्यालयका कर्मचारीको कुरा, बाल शिक्षकको तलब पनि थपिएको छ । केही विषय छुटेको होला । तर मुलतभूत रुपमा देशको अर्थतन्त्रलाई बलियो बनाउने गरी बजेट आएको छ ।’
बाग्मती प्रदेशमा विद्यालय बस खरिदको लागि ६ करोड बजेट विनियोजन
बाग्मती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित नियमित गराउन विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
उनले लोपोन्मुख, अति सिमान्तक्रित, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरुलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।