काठमाडौं ।
विद्यालय कर्मचारी (कार्यालय सहयोगी र लेखापाल) को तलब सम्बन्धमा वर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेल र निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको फरक–फरक भनाइ सार्वजनिक भएको छ ।
तलबका विषयमा विद्यालय कर्मचारी अन्योलमा परिरहेका बेला मन्त्रीहरूको फरक–फरक भनाइ आएको हो । आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब बढेको घोषणा गरिएन । शिक्षामन्त्री पौडेलले इसीडी शिक्षकको तलब दुई हजार बढाएर १० पुर्याइएको संसद्मा बताए । शिक्षामन्त्रीले इसीडी शिक्षकको मात्रै तलब बढेको जानकारी गराएपछि विद्यालय कर्मचारी चिढिए ।
तलब कै विषयमा स्पष्ट नभएको भन्दै राष्ट्रियसभामा पनि सांसदहरूले सरकारलाई प्रश्न गरे । सांसदहरूले प्रश्न गरेपछि शिक्षा मन्त्रीले भनेका थिए, ‘आर्थिक वर्ष २०७९/८० को बजेटमा विद्यालय कर्मचारीको तलबको विषयमा बोलिएन । लगत्तै म आफैं पनि सम्माननीय प्रधानमन्त्रीज्यूकाँ, माननीय अर्थमन्त्रीज्यूकाँ र अर्थमन्त्रालयमा गएर किन छुट्यो भनेर हामीले लविङ गरेका छौं । लेखी पठाएका छौं । क्याबिनेटमा पनि यस विषयमा छलफल चल्यो । छिट्टै यसको व्यवस्थापन हुने प्रतिबद्धता अर्थमन्त्रालयबाट भएको छ ।’
तर निवर्तमान अर्थमन्त्री शर्माले विद्यालय कर्मचारीको तलब बढाइएको बताए । सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्वार्ता दिँदै शर्माले विद्यालय कर्मचारीको तलब बढेको जनाएका थिए ।
उनले अन्तर्वार्तामा भनेका थिए, ‘बजेट निर्माणको सन्दर्भमा हरेक सरोकारवालाको समग्रको भनाइ र स्वार्थलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । केही न केही छुटेको होला तर मुलभूत रूपमा समेटिएको छ । जस्तैः स्थानीय तहका विद्यालयका कर्मचारीको कुरा, बाल शिक्षकको तलब पनि थपिएको छ ।’ उनले विद्यालय कर्मचारीको तलब कति बढाइएको हो त्यसबारे खुलाएनन् ।