काठमाडाैं ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले (योजना तथा अनुगमन शाखा) कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा प्रदान गर्न निर्देशन दिएको छ । केन्द्रले मंगलबार सूचना जारी गरी कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।
गत आर्थिक वर्षसम्म बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम चालु आर्थिक वर्षदेखि कक्षा ६ सम्म दिने निर्णय गर्दै बजेट विनियोजन गरेको छ ।
सोही अनुसार शाखाले साउनदेखि कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम कार्यन्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । यससम्बन्धी विस्तृत विवरण कार्यक्रम कार्यन्वयन पुस्तिका, २०७९–८० मा उल्लेख गरिने सूचनामा उल्लेख छ ।
एसईईको नतिजा आगामी बुधबार सार्वजनिक गर्ने बोर्डको तयारी
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यहि साउन ११ गते बधुबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार डाटा इन्ट्रीको काम सम्पन्न भइसकेको छ । यतिबेला रुजुको काम धमाधम भइरहेको उनले बताए । रायमाझीले भने, ‘रुजुको काम भइरहेको छ । साउन ११ गते नतिजा सार्वजनिक गर्छौँ ।’
रायमाझीले रुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको बताए । उनका अनुसार उनीहरु विहानदेखि साँझसम्म रुजुको काममा खटिँदै आएका छन् । सकभर त्रुटिरहीत नतिजा बनाउने प्रयासमा रहेको बताउँदै उनले भने, ‘अझै तीन दिनसम्म रुजुको काममा व्यस्त रहनेछौँ । त्यसपछि पनि त्रुटि पत्ता लगाउने काम गर्नेछौँ ।’
गत सालको एसईई गत वैशाख २० गते सकिएको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ। त्यसैअनुसार बोर्डले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको हो ।