काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित शुल्क र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।
एसईईको नतिजा आगामी बुधबार सार्वजनिक गर्ने बोर्डको तयारी :
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यहि साउन ११ गते बधुबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार डाटा इन्ट्रीको काम सम्पन्न भइसकेको छ । यतिबेला रुजुको काम धमाधम भइरहेको उनले बताए । रायमाझीले भने, ‘रुजुको काम भइरहेको छ । साउन ११ गते नतिजा सार्वजनिक गर्छौँ ।’
रायमाझीले रुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको बताए । उनका अनुसार उनीहरु विहानदेखि साँझसम्म रुजुको काममा खटिँदै आएका छन् । सकभर त्रुटिरहीत नतिजा बनाउने प्रयासमा रहेको बताउँदै उनले भने, ‘अझै तीन दिनसम्म रुजुको काममा व्यस्त रहनेछौँ । त्यसपछि पनि त्रुटि पत्ता लगाउने काम गर्नेछौँ ।’
गत सालको एसईई गत वैशाख २० गते सकिएको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ। त्यसैअनुसार बोर्डले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको हो ।