काठमाडौं ।
सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम परिवर्तन गर्ने तयारी गर्दे भोलि बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयस्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकमा पुरानै नाम शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय राख्ने प्रस्ताव गर्ने भएको हो ।
‘पहिलेको नाम संसारभार नै चिनिएको र काम अहिले पनि उही भएकाले पुरानै नाम राख्न सुझाव आएको हो,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘पहिले क्याबिनेटले नाम परिवर्तन गरेको हो । आवश्यक प¥यो भने अहिले पनि क्याबिनेटले परिवर्तन गर्छ ।’ यसअघि २०७५ सालमा तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ बनाइएको थियो ।
मानव स्रोत विकास केन्द्रद्वारा विपन्न लक्षित छात्रवृत्तिका लागि विवरण अद्यावधिक गर्न निर्देशन :
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ बमोजिम छात्रवृत्ति रकम उपलब्ध गराउने प्रयोजनका लागि बैंकखाता खोली केन्द्रको एकीकृत सूचना व्यवस्थापन प्रणालीमा विवरण अद्यावधिक गर्न सम्बन्धित पालिकालाई निर्देशन र समन्वय गरिदिन आग्रह गरेको छ ।
सामुदायिक विद्यालयको कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीको विवरण असार २७ गते सार्वजनिक गरिसकिएको हुँदा शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा फारम भरेका र शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा अध्ययनरत रही सम्बन्धित स्थानीय तहले प्रमाणीकरण गरेका विद्यार्थीले पनि केन्द्रको एकीकृत सूचना व्यवस्थापन प्रणालीमा बैंक खाता विवरण अद्यावधिक गरेको हुनुपर्ने हुँदा विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।