काठमाडौं ।
भारतीय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ। भारतका पूर्व ब्याट्सम्यान वीवीएस लक्ष्मण जिम्बाब्वे भ्रमणका लागि भारतीय टिमको प्रशिक्षकमा नियुक्त भएका छन्। बीसीसीआई सचिव जय शाहले जिम्बाब्वे भ्रमणका लागि लक्ष्मण फेरि एकपटक भारतीय टोलीको प्रशिक्षकको भूमिकामा देखिने बताएका छन्।
लक्ष्मण हाल राष्ट्रिय क्रिकेट एकेडेमीका प्रमुख छन्। यसअघि पनि उनी टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। लक्ष्मणलाई आयरल्याण्ड स्ँगको शृंखलाका लागि भारतीय टोलीको मुख्य प्रशिक्षक बनाइएको थियो। अब उनलाई फेरि यो जिम्मेवारी दिइएको छ।
टोलीका नियमित प्रशिक्षक राहुल द्रविड एसिया कप २०२२ को लागि यूएई प्रस्थान गर्दैछन्। जसका कारण जिम्बाब्वे भ्रमणमा भारतीय टोलीलाई लक्ष्मणले प्रशिक्षण दिनेछन्।
बीसीसीआई सचिव शाहले भने, ‘जिम्बाब्वेसँगको तीन खेलको एकदिवसीय शृंखलाका लागि लक्ष्मण भारतीय टोलीको मुख्य प्रशिक्षक हुनेछन्। यो अवधिमा राहुल द्रविड ब्रेकमा हुनेछन् भन्ने होइन। जिम्बाब्वेसँगको सिरिज २२ अगस्टमा सकिँदैछ। राहुल द्रविडसहितको मुख्य भारतीय टोली एसिया कपका लागि २३ अगस्टमा युएई पुग्नेछ।’
भारतीय टोलीले जिम्बाब्वेविरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्दैछ। ६ वर्षमा भारतको जिम्बाब्वेको यो पहिलो भ्रमण हो। पछिल्लो पटक एमएस धोनीको नेतृत्वमा रहेको भारतीय टोलीले जुन–जुलाई २०१६ मा तीनवटा एकदिवसीय र तीनै टी–२० म्याच खेलेको थियो। त्यसपछि भेटघाट भएन। यसपटक टी–२० ढाँचाका खेल हुने छैनन्। जिम्बावेब् टोलीका लागि ठूलो टोलीसँग खेल्नु राम्रो सङ्केत हुनेछ।