हेटौँडा/ कृषिलाई व्यवसायिक र आकर्षक पेशाका रूपमा विकास गर्दै युवापुस्तालाई यसतर्फ आकर्षित गर्ने उद्देश्यसहित बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला शुक्रबारदेखि हेटौँडामा सुरु भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सभाहल परिसरमा सञ्चालनमा आएको उक्त मेला चार दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
मेलामा सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवन र मकवानपुर जिल्लाका कृषक तथा कृषि उद्यमीहरूले आफ्ना उत्पादन प्रदर्शन तथा बिक्रीका लागि राखेका छन्। करिब ४० वटा स्टलमा कोदो, फापर, गेडागुडी, मह, च्याउ, माछा, गुन्द्रुक, मसला, केराका परिकार, बाँस तथा माटोका सामग्रीजस्ता स्थानीय उत्पादनहरू समेटिएका छन्।आयोजकका अनुसार कृषक तथा उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइनुका साथै आवास र भोजनको व्यवस्था गरिएको छ, जसले साना किसानलाई बजारसम्म पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण अपरिहार्य रहेको बताउनुभयो। उहाँले कृषि, उद्योग र वाणिज्यबीचको सहकार्यलाई सुदृढ बनाउँदै उत्पादनमा आधारित अनुदान प्रणालीलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो।
अनुदान वितरण प्रक्रियालाई पारदर्शी बनाउँदै अनियमितता नियन्त्रण गर्न कडाइ गरिने पनि उहाँको भनाइ थियो। “कृषि प्रधान देश” भन्ने पहिचानलाई व्यवहारमा उतार्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उहाँले बताउनुभयो।मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले कृषकको मनोबल अभिवृद्धि गर्नुका साथै युवालाई कृषि क्षेत्रमा उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो।
करिब ६ लाख रुपैयाँ लागतमा सञ्चालन भइरहेको उक्त मेलाका लागि बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकामार्फत ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।















