हेटौंडा/ नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ को ७१औँ स्थापना दिवस हेटौंडा मा प्रभातफेरीसहित विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
बागमती प्रदेश समिति र मकवानपुर शाखाको संयुक्त आयोजनामा सम्पन्न प्रभातफेरीमा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता देखिएको थियो। स्कुलरोडबाट सुरु भएको र्याली शहरका विभिन्न क्षेत्र परिक्रमा गर्दै सिमाचौरमा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममार्फत पत्रकारहरूले पेशागत एकता, जिम्मेवार पत्रकारिता र प्रेस स्वतन्त्रताको संरक्षणमा एकजुट हुनुपर्ने सन्देश दिएका थिए। दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम भइरहँदा हेटौंडामा पनि विशेष उत्साह देखिएको थियो।
यसै सन्दर्भमा बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर ले शुभकामना सन्देश जारी गर्दै पत्रकारिताको मूल दायित्वप्रति सजग रहन आग्रह गरेका छन्। उनले सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्दै जनताको सूचना पाउने अधिकार सुनिश्चित गर्नु पत्रकारको प्रमुख कर्तव्य भएको उल्लेख गरे।
त्यस्तै, मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी ले लोकतन्त्रको सुदृढीकरणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहने बताउँदै सार्वजनिक सरोकारका विषयमा स्पष्ट र जिम्मेवार धारणा राख्नुपर्ने आवश्यकता औंल्याए।
सात दशकभन्दा लामो इतिहास बोकेको महासंघले अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र व्यावसायिक पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको वक्ताहरूले उल्लेख गरेका छन्।
कार्यक्रममा संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाई तथा पूर्व अध्यक्ष राममणि दाहाल लगायतको उपस्थिति रहेको थियो।















