हेटौंडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकाले ग्रामीण बस्तीका नागरिकलाई सहज सेवा पहुँच पुर्याउने उद्देश्यले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर प्रभावकारी बनेको छ। दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमार्फत नागरिकता, राष्ट्रिय परिचयपत्रदेखि स्वास्थ्य र कृषि सेवासम्म एउटै थलोबाट प्रदान गरिएको हो।
शिविरमा सहभागी टोलीले नागरिकताबाट वञ्चित रहेका स्थानीयको घरदैलोमै पुगेर नागरिकता वितरण गरेको छ भने राष्ट्रिय परिचयपत्र पनि सोही स्थानमै प्रिन्ट गरेर हस्तान्तरण गरिएको थियो। सेवा आफ्नै गाउँमा पाउँदा स्थानीयवासी उत्साहित देखिएका थिए।
यस्तै, शिविरमा स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्नुका साथै सुत्केरी आमाहरूलाई पोषण सहयोग स्वरूप कुखुरा वितरण गरिएको थियो। कृषि शाखामार्फत किसानलाई अनुदानमा आधारित कृषि सामग्री, बीउबिजन तथा उपकरण उपलब्ध गराइएको थियो भने पशु सेवाअन्तर्गत पशुपन्छीका लागि आवश्यक औषधि वितरण गरिएको थियो।
गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्दै हरेक वर्ष घरघरमै पुगेर स्वास्थ्य जाँच तथा आवश्यक सामग्री वितरण गर्दै आएको छ। यसपटक पनि उक्त कार्यक्रमलाई निरन्तरता दिँदै जेष्ठ नागरिकलाई फलफूल, छाता र झुल प्रदान गरिएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्ल ले “सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार” भन्ने नारालाई व्यवहारमा उतार्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस अभियानमार्फत ३० जनालाई नागरिकता प्राप्त गरेका छन् भने १ हजार जनालाई राष्ट्रिय परिचयपत्र घरमै पुगेर बितरण गरिएको अध्यक्ष मल्लले बताउनुभयो। साथै कृषक समूहलाई विभिन्न कृषि सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभएको छ।















