चट्याङ लागेर मकवानपुरमा माछा मारेर फर्किँदै गरेका एकको मृत्यु, अर्का घाइते

Image

हेटौंडा/ मकवानपुरमा मंगलबार साँझ परेको हावाहुरीसहितको चट्याङले एक जनाको ज्यान लिएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्लाको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलाको बगरमा साँझ करिब ६:३० बजे उक्त घटना भएको हो।
स्थानीय अन्दाजी ३२ वर्षीय अजय पहरी र ३७ वर्षीय उज्वल थोकर माछा मारेर घर फर्किने क्रममा अचानक परेको चट्याङको चपेटामा परेका थिए। दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको थियो।

घाइतेमध्ये उज्वल थोकरको हेटौंडामा उपचार भइरहेको छ र उनको अवस्था मध्यम रहेको चिकित्सकले बताएका छन्। गम्भीर घाइते अजय पहरीलाई प्रारम्भिक उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिक लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि हेटौंडा लैजाँदै गर्दा राति ११:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।