हेटौंडा / मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ गुम्बाचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बिहान करिब ११:२५ बजे हेटौडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक हेटौडा–४ कर्रा बस्ने १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन्। सोही मोटरसाइकलको पछाडि सवार हेटौडा–९ बस्ने १८ वर्षीया एकता बैद्य गम्भीर घाइते भएकी थिइन्। ठक्करपछि उनी नवलपरासीबाट सिमेन्ट बोकेर वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा समेत ठोक्किएकी थिइन्।
गम्भीर घाइते बैद्यलाई उपचारका लागि हेटौडा अस्पताल लगिएकोमा दिउँसो १२:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
त्यसैगरी, अर्को मोटरसाइकल चालक चितवन इच्छाकामना गाउँपालिका–५ का २१ वर्षीय पुष्पालाल गुरुङ मध्यम घाइते भएका छन्।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, ट्रक तथा ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















