भीमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासोमा प्रहरीको प्रत्यक्ष जवाफ

Image

हेटौंडा / इलाका प्रहरी कार्यालय भिमफेदी को आयोजनामा “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार बिहान ११:३० बजे सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, भीमफेदी गाउँपालिका का उपाध्यक्ष संजिव श्रेष्ठ, कारागार कार्यालय भीमफेदीका प्रशासक सुवास पौडेल, सुरक्षा प्रमुख देबेन्द्र बहादुर सिंह, वडा नं. ३, ४, ५ र ६ का वडा अध्यक्षहरू, इलाका प्रहरी कार्यालय भिमफेदीका प्रमुख सन्त कुमार श्रेष्ठ, साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर का प्रहरी निरीक्षक बच्चुराम फुयाल लगायत स्थानीय सर्वसाधारणहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय बासिन्दाहरूले शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन तथा दैनिक जीवनसँग सम्बन्धित विभिन्न जनगुनासो, सुझाव र जिज्ञासा प्रस्तुत गरेका थिए। उठाइएका विषयहरूमा प्रहरी उपरीक्षक खत्री र प्रहरी निरीक्षक फुयालले प्रत्यक्ष रूपमा जवाफ दिँदै आवश्यक सुधार तथा सहकार्यको प्रतिबद्धता व्यक्त गरेका थिए।

नागरिक र प्रहरीबीचको दूरी घटाउँदै आपसी विश्वास र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय तहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।