हेटौँडा / उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले मकवानपुरमा पशुवधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनबारे अन्तरक्रिया गरिएको छ।
पशु सेवा कार्यालय मकवानपुरको आयोजनामा आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आयोजित कार्यक्रममा मासु पसलको मापदण्ड, मासु जाँच तथा छापको व्यवस्था र ऐन कार्यान्वयनका विषयमा छलफल गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा मासु बिक्री तथा वितरणलाई व्यवस्थित बनाउने, निर्धारित मापदण्ड पालना गराउने र उपभोक्तालाई स्वच्छ एवं गुणस्तरीय मासु उपलब्ध गराउने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. रामप्रकाश प्रधान, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रियामा पशुवधशाला तथा मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयनमार्फत मासुजन्य वस्तुको गुणस्तर कायम राख्ने, मासु पसलमा निर्धारित मापदण्ड पालना गराउने तथा उपभोक्ताको स्वास्थ्य सुरक्षामा ध्यान दिने विषयमा छलफल गरिएको थियो।

















