हेटौँडा । ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै हेटौँडा उपमहानगरपालिका–१ नम्बर वडा कार्यालयले ९० वर्ष उमेर पार गरेका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।
विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै चाडपर्वको शुभकामना आदानप्रदान गरिएको थियो।
ज्येष्ठ नागरिक वडा मञ्चका अध्यक्ष लीला आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथि थिइन्।
कार्यक्रममा नगर प्रमुख लामाले ज्येष्ठ नागरिकको सम्मानले पुस्ताबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै समाजमा आपसी सद्भाव र आत्मीयता बढाउन सहयोग पुग्ने बताइन्।
त्यस्तै, हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेले ज्येष्ठ नागरिकसँग रहेको जीवन अनुभव र ज्ञानलाई नयाँ पुस्ताले सिकाइका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए। ज्येष्ठ नागरिकको अनुभव र युवाको ऊर्जालाई जोड्न सके सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान र कृतज्ञताको भावना अभिवृद्धि गर्नुका साथै पुस्ताबीचको सम्बन्धलाई थप सुमधुर बनाउने सन्देश दिएको छ।
















