मनहरीका ४० विपन्न परिवारलाई काजकिरिया खर्च, जनही २०,२० हजार सहयोग

Image

हेटौंडा / मनहरी गाउँपालिकाले शोकमा परेका ४० विपन्न परिवारलाई काजकिरिया खर्चबापत जनही २० हजार रुपैयाँ उपलब्ध गराएको छ।

गाउँपालिकाका वडा नम्बर १, २, ४, ५, ६, ७, ८ र ९ का ४० परिवारलाई नगद रकमसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरिएको हो।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई शोकको समयमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले काजकिरिया खर्च उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो।

विपन्न परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने कार्यक्रमअन्तर्गत गाउँपालिकाले बजेट विनियोजन गरेर सहयोग गर्दै आएको अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो।