काठमाडौं ।
जिम्बाब्वे ‘ए’ विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल ६ विकेटले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा नेपाल १–० ले पछि परेको छ । जिम्बाब्वेले भने सिरिजमा सुखद सुरुवात गर्यो ।
आज भएको पहिलो खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बाब्वे १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि तडिवानासे मरुमणिले ५६, कप्तान टोनी मुन्योंगाले ५० र इन्नोसेन्ट कियाले ४७ रन बनाए । नेपालका लागि बसिर अहमदले ३.५ ओभरमा २२ रन दिएर दुई विकेट लिए ।
सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट हात पारे । सोमपाल कामी र अविनाश बोहरालगायत महत्वपूर्ण बलर विकेटविहीन रहे । सोमपालले २ ओभरमा बिनाविकेट १९ रन दिए । अविनाशले २ ओभरमा बिनाविकेट ३० रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा बिनाविकेट २४ रन दिए । सन्दीपले ४ ओभरमा एक विकेट लिएर ५० रन खर्चिए ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो । टी–२० क्रिकेटमा नेपालले जिम्बाब्वेलाई दिएको यो हालसम्मकै बलियो लक्ष्य हो ।
नेपालका लागि मोहम्मद आदिल आलमले उत्कृष्ट पारी खेले । उनले २७ बलमा चार चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले ३१ बलमा आठ चौकासहित ४६, रोहितकुमार पौडेलले २६ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३६ रनको योगदान दिए ।
दीपेन्द्रसिंह ऐरीले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २८ रन जोडे । आसिफ शेख ९ र आरिफ शेख दुई रनमा आउट भए । करण केसी चार रनमा अविजित रहे । जिम्बाब्वे ‘ए’ का लागि जोन मसरा, ब्रेण्डन मभुता, ल्युक जोग्वें र ब्राड इभन्सले एक/एक विकेट लिए । नेपाल र जिम्बाब्वेबीचको दोस्रो खेल भोलि हुनेछ ।