मकवानपुरगढीको हराएको मूर्तिको टाउकोदेखि अतिक्रमणमा परेको जग्गासम्म : इतिहासमाथि कसको नजर? अभियान्ता महत

Image

हेटौँडा । मकवानपुरको ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको मकवानपुरगढीको सम्पदा संरक्षणप्रति गम्भीर प्रश्न उठाउँदै ‘सेवा, सहयोग र आवाजमा हामी’का अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

महतले सामाजिक सञ्जालमार्फत मकवानपुरगढीस्थित वंशगोपाल मन्दिरमा रहेको ऐतिहासिक कृष्णको मूर्तिको शिरभाग हराएको विषयमा अनुसन्धानको अवस्थाबारे सार्वजनिक जानकारी दिन माग गरेका छन्। सेनकालीन इतिहाससँग जोडिएको उक्त मूर्ति अष्टधातुबाट बनेको र सुनको लेपनसमेत रहेको बताइन्छ।

उनले मूर्ति हराउनुका साथै मकवानपुरगढी दरबारसँग जोडिएको ऐतिहासिक जग्गाको सीमाना, स्वामित्व तथा प्रयोगको अवस्थासमेत यकिन गर्नुपर्ने बताएका छन्। ऐतिहासिक सम्पदा क्षेत्रको जग्गा अतिक्रमण वा व्यक्तिको नाममा दर्ता भएको भए निष्पक्ष छानबिन गरी संरक्षण गर्नुपर्ने उनको माग छ।

महतले हराएको मूर्तिको खोजी तथा अनुसन्धानको प्रगति सार्वजनिक गर्न, पुराना अभिलेख तथा तस्बिर सुरक्षित गर्न, गढी क्षेत्रको जग्गाको सीमाना यकिन गर्न र पुरातात्त्विक सामग्रीको डिजिटल अभिलेख तयार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

उनले मकवानपुरगढीको संरक्षणलाई मन्दिर र दरबारको संरचनामा मात्र सीमित नगरी मूर्ति, जग्गा, अभिलेख, पुराना तस्बिर तथा स्थानीय इतिहासलाई समेत समेटेर समग्र संरक्षण योजना बनाउनुपर्ने बताएका छन्।