हेटौँडामा ‘लिटल स्टार्स’को च्यारिटी शो सम्पन्न, मामाघर नेपाललाई सहयोग गरिने

Image

हेटौँडा । रेडियो बुलेटिन ८९.७ मेगाहर्जको आयोजनामा मामाघर नेपालको सहयोगार्थ चलचित्र ‘लिटल स्टार्स’को च्यारिटी शो हेटौँडामा सम्पन्न भएको छ। ओम्याक्स सिनेमा हलमा आयोजित कार्यक्रममा चलचित्रको विशेष प्रदर्शन गरिएको हो।

एजे टिम हेटौँडा प्रालिद्वारा निर्मित चलचित्र ‘लिटल स्टार्स’ले बालबालिका तथा सामाजिक विषयवस्तुलाई प्रस्तुत गरेको छ। च्यारिटी शोबाट संकलित रकम हेटौँडा–११ स्थित मामाघर नेपाललाई सहयोग गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सामाजिक विषयवस्तुमा आधारित चलचित्रले समाजलाई सकारात्मक सन्देश दिने बताइन्। उनले चलचित्रको विषयवस्तुलाई मनन गर्दै सामाजिक रुपान्तरणका लागि अघि बढ्नुपर्नेमा जोड दिँदै आगामी दिनमा चलचित्रको युनिटलाई सहयोग गर्न आफू तयार रहेको बताइन्।

गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले हेटौँडालाई सडक बालबालिकारहित बनाउन आफूहरूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। सिविन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले चलचित्रले बालबालिकाको क्षेत्रमा थप सक्रिय भएर काम गर्न प्रेरणा दिएको बताए।

नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले चलचित्रले समाजका यथार्थ गतिविधिलाई प्रस्तुत गरेको भन्दै अझै धेरै विषय उजागर गर्न बाँकी रहेको बताए। उनले चलचित्रको दोस्रो सिक्वेलसमेत ल्याउनुपर्ने धारणा राखे।

मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले चलचित्रमा उठाइएको विषयवस्तु आफूले वास्तविक जीवनमै देख्दै आएको बताउँदै चलचित्रलाई व्यवहारिक र सान्दर्भिक रहेको बताए। उनले आगामी दिनमा बालबालिका सडकमा सुत्नुपर्ने अवस्था अन्त्य गर्न थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तान, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, पत्रकार, नागरिक समाजका अगुवा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता रेडियो बुलेटिन ८९.७ मेगाहर्जका प्रबन्ध निर्देशक अनिलकुमार खातिले गरेका थिए। उनले रेडियोले विगतदेखि नै सामाजिक विषयवस्तुलाई प्राथमिकतामा राख्दै समाजका समस्या र विकृतिमाथि निगरानी, खबरदारी तथा सहजीकरण गर्दै आएको बताए। उनले च्यारिटी शोबाट उठेको रकम मामाघर नेपाललाई सहयोग गरिने जानकारी दिए।