काठमाडौं ।
अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजका लागि श्रीलंकाले टोली घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले अष्ट्रेलियासँगको तीन खेलको टी–२० सिरिजका लागि दसुन शनाकाको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरेको हो ।
आईपीएल २०२२ मा पञ्जाब किंग्सका लागि उत्कृष्ट ब्याटिङ गरेका भानुका राजपाक्षेलाई फेरि टोलीमा समावेश गरिएको छ । उनले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । तर, लगातार राम्रो प्रदर्शन गरेपछि बोर्डले राजापाक्षेलाई संन्यास फिता लिन भनेको थियो । त्यसपछि उनी टोलीमा फर्किएका हुन् ।
कोरोना संक्रमणका कारण भारतविरुद्धको टी–२० सिरिजबाट बाहिर रहेका लेग स्पिनर वानिन्दु हसरंगा पनि टिममा फर्किएका छन् । हसरंगाले हालै सम्पन्न आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि उत्कृष्ट बलिङ गरेका थिए । उनले सिजन अवधिभर १६ खेलमा २६ विकेट लिए ।
त्यस्तै, राजपाक्षेले पञ्जाबका लागि ९ खेलमा १५९.६८ को शानदार स्ट्राइक रेटमा २०६ रन बनाए । टी–२० मा लयमा नदेखिएका सिनियर ब्याटर दिनेश चण्डिमललाई टिममा राखिएको छैन । त्यस्तै, चेन्नई सुपर किंग्सबाट डेब्यु गरेका मथिशा पाथिरानालाई पनि श्रीलंकाले टी–२० टोलीमा समावेश गरिएको छ ।
पाथिरानाको एक्सन श्रीलंकाका पूर्वबलर लसिथ मालिंगाको जस्तै छ । धनञ्जय डि सिल्भा र लाहिरु कुमार भने टोली मा अटाउन सकेनन् । निरोशन डिकवेला र लेग स्पिनर जेफ्री भान्डरसेलाई वैकल्पिक खेलाडीको सूचीमा टिममा समावशे गरिएको छ ।
श्रीलंका र अष्ट्रेलियाबीचको टी–२० सिरिज ७ जुनदेखि सुरु हुनेछ । योलगत्तै दुवै टिमले एकदिवसीय र टेष्ट श्रृंखला पनि खेल्नेछन् । खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछन् ।
टी–२० सिरिजका लागि श्रीलंकाको टोली : दसुन शनाका (कप्तान), पथुम निसंका, दनुष्का गुणथिलका, कुसल मेन्डिस, चरिता अशलंका, भानुका राजापाक्षे, नुवानिदु फर्नान्डो, लाहिरु मदुशंका, वानिन्दु हसरंगा, चमिका करुणारत्ने, दुस्मान्था चमिरा, कसुन राजिता, महेश मेन्डिस, महेशमा, प्रवीण जयविक्रम र लक्षण सदाकन ।