काठमाडौं ।
वेष्ट इण्डिजका स्टार क्रिकेटर किरण पोलार्डले पूर्वभारतीय क्रिकेटर आकाश चोपडालाई लिएर कडा प्रतिक्रिया दिएका छन् । उनले ट्विटरमार्फत चोपडाको बारेमा प्रतिक्रिया दिएका हुन् । तर, भारतीय समर्थकले आलोचान गरेपछि पोलार्डले केहीबेरमै ट्विट डिलिट गरे ।
पोलार्डले ट्विटमार्फत भनेका थिए, ‘यो कामले आकाश चोपडाको फ्यान फलोइङ बढाउन सक्छ । यो काम जारी राख्नुहोस् ।’ आकाशले केही दिनअघि आईपीएलमा पोलार्डको प्रदर्शनको आलोचना गरेका थिए । त्यसकारण पोलार्डले चोपडालाई यस्तो भनेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

आकाश चोपडाले आफ्नो युट्युब च्यानलमा भने, ‘मलाई लाग्छ हामीले किरण पोलार्डको अन्त्य देखेका छौं। मुम्बई इन्डियन्सको टोलीले उनलाई अर्को वर्षको लिलामी अघि रिलिज गर्न सक्छ ।’
आइपिएल २०२२ मा पोलार्डको प्रदर्शन निराशाजनक रह्यो । उनले ११ म्याचमा १०७.४७ को स्ट्राइकरेटमा १४४ रन मात्र बनाउन सके । पोलार्डले बलिङमा ८.९२ इकोनोमीमा रन खर्च गर्दै चार विकेट लिए । टिम पनि प्लेअफबाट बाहिरिएपछि अन्तिम खेलहरूमा उनको स्थानमा मुम्बईले युवा खेलाडीलाई प्लेइङ–११ मा मौका दिएको थियो ।
