काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । घरेलु टोली अमेरिकाले जितका लागि प्रश्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ सबै विकेट गुमाउँदै २०६ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले अर्धशतकीय पारी खेले ।
उनले ६३ रन बनाए भने सोमपाल कामी ४७ र देव खनालले ३४ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् । आरिफले ७६ बलमा ३ चौकासहित ६३ रन प्रहार गरेर क्याच आउट भए भने सोमपाल कामी ७२ बलमा
१ चौकासहित ४७ रन बनाएर रन आउट भएका थिए । त्यस्तै देव खनालले ४७ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाएर रन आउट भए ।
नेपालका लागि अन्य ब्याट्सम्यान कुशल भुर्तेलले २९ बलमा १० रन, आसिफ सेखले १५ बलमा १८, रोहित पौडेलले १९ बलमा १६, दिपेन्द्र सिंह ऐरीले ११ बलमा ७ रन, मोहम्मद आदिल आलमले १० बलमा ४ रन, करण केसीले ३ बलमा १ रन बनाए भने सागर ढकाल १ रनमा अविजित रहे । कप्तान सन्दिप लामिछानेले खाता नै खोल्न सकेनन् । अमेरिकाका लागि सौरभ नेत्रवाल्कर र अलि खानले समान ३/३ विकेट लिए भने नोसतुस केन्जिगेले र निसर्ग पटेलले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंह ५८ र सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय पारी खेले । आरोन जोन्स ४३, सैटेजा मुक्कामल्लाले ३६ रन बनाएका थिए । नेपालका लागि बलिङमा करण केसीले ९ ओभर बलिङ गर्दै ६७ रन खर्चिएर ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ४३ रन खर्चिएर २ विकेट लिए । त्यस्तै, सोमपाल कामीले ९ ओभरमा ५७ रन खर्चिएर १ विकेट हात पारे भने दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ४३ रन दिएर १ विकेट लिए ।
खेलमा पराजित भएपछि सञ्चारकर्मीसँग बोल्दै कप्तान सन्दीप लामिछानेले सबै खेल जित्ने अवसर हुँदा पनि अन्तिममा चुक्दा पराजित हुन पुगेको बताए । ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको उनले बताए ।
कप्तान लामिछानेले ब्याटिङमा साना गल्तीहरू भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए । उनले आफूलाई साथ दिन अन्य स्पिनर बलरहरूले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको बताए । कप्तान लामिछानेले खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडीहरू अनुभवहीन भएकोले सिक्दै अघि बढ्नुपर्ने बताए ।
सन्दीपको यो अभिव्यक्तिबाट टिममा ज्ञानेन्द्र मल्ललाई नसमेट्नु भूल भएको आशय झल्किन्छ । पछिल्लो समय लगातार टिम बाहिर रहेका पूर्वकप्तान मल्ललाई अमेरिका सिरिजमा समावेश नगरेको भन्दै समर्थकले कप्तान, कोच र क्यानको व्यापक आलोचना पनि गरेका थिए । धेरै समर्थकले अमेरिका सिरिजमा अनुभवी ब्याटरको अभाव खुड्किने आकलन पनि गरेका थिए । र, केही हदसम्म समर्थकको अनुमान मिलेको छ ।
सन्दीपले आगामी खेलमा थप चुनौती रहेको र खेलाडीहरूलाई थप अभ्यास गराएर खेल राम्रो पस्कने बताए । ‘जितको एकदम नजिक पुगेर हारिरहेका छौँ । हामीले सबै गेम जित्नुपर्ने हो । तर लास्टमा गएर कन्ट्रोल लुच भइरहेको थियो । ब्याटिङमा साना साना समस्या आइरहेका छन् । मैले पहिला पनि भनेको थिएँ, यी सबै गेम हामीले जित्नुपर्ने थियो । तर अन्तिममा आएर चुकेका छौँ । हामीले यसलाई सुधार गर्नुपर्ने कुरा देखाएको छ । मेराबाहेक अर्को स्पिनरबाट पनि विकेट आयो भने टिमलाई सहयोग हुन्छ,’ सन्दीप्ले भने ।