काठमाडौं ।
आसन्न संस्करणको फिफा विश्वकप यही वर्षको २१ नोभेम्बरबाट १८ डिसेम्बरसम्म कतारमा आयोजना हुँदैछ ।प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गर्नेछन् । खेलको तालिका, खेलस्थल र समय पनि सार्वजनिक भइसकेको छ । विश्वकप फुटबल मध्यपूर्वमा र यो समयमा हुन लागेको पहिलो पटक हो ।
कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुँदैछ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको हो ।
विश्वकप फुटबल २०२२ का लागि छनोट चरणका खेलहरू तीन वर्षअघि नै सुरु भएको थियो । समूहगत खेलहरूमा विभिन्न देशका टोलीहरूबीच प्रतिस्पर्धा भयो र बढी अङ्क ल्याउने बलिया टोलीहरू सहभागी हुने सूचीमा समावेश भए । समान अङ्क ल्याउने टोलीहरूबीच प्लेअफ खेल भयो ।
सन् २०१८ को विश्वकप विजेता फ्रान्स प्रतियोगितामा सहभागी हुनेछ तर युरोपियन च्याम्पियन इटली विश्वकपमा छनौट हुन असफल रहेको छ । प्रतिस्पर्धाका लागि ३२ टोली छानिएका छन् । लिग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ । विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन् । चार पटक विश्व विजेता जर्मनी, दुईपटक विश्व विजेता फ्रान्स, एक पटक विश्व विजेता स्पेन र इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स कतारमा खेल्नेछन् ।
एशियाबाट ६ देश विश्वकप खेल्नका लागि छनोट भएका छन् जसमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार छन् । अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन् । त्यस्तै, दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन् । दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता अर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिँदै छन् । उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन् ।
अहिलेसम्म ब्रजिलले सर्वाधिक पाँच पटक (सन् १९५८, १९६२, १९७०, १९९४, २००२) विश्वकप जितेको छ । त्यस्तै, जर्मनीले चारपटक (सन् १९५४, १९७४, १९९०, २०१४), इटलीले चारपटक (सन् १९३४, १९३८, १९८२, २००६), अर्जेन्टिनाले दुईपटक (सन् १९७८, १९८६), फ्रान्सले दुईपटक (सन् १९९८, २०१८०, उरुग्वेले दुईपटक (सन् १९३०, १९५०), स्पेनले एकपटक (सन् २०१०) र इंग्ल्याण्डले एकपटक (सन् १९६६) जितेको छ ।