काठमाडौं ।
भारतमा जारी रणजी ट्रफीको पहिलो सेमिफाइनलमा मध्ये प्रदेशका ओपनिङ ब्याटर हिमांशु मन्त्रीले शानदार पारी खेलेका छन् । उनले बंगालको टिमविरुद्ध ३२७ बलमा १९ चौका र एक छक्काको मद्दतमा १६५ रनको पारी खेलेका हुन् ।
हिमांशुकै उत्कृष्ट पारीमा मध्ये प्रदेशले पहिलो इनिङ्समा ३४१ रन बनाउन सफल भयो । त्यस्तै, मध्ये प्रदेशका लागि अक्षत रघुवंशीले ६३, पुनित दातेले ३३, सारांश जैन र शुभमन शर्माले १७/१७ रनको योगदान दिए । बंगालका लागि मुकेश कुमारले चार, शाहबाज अहमदले तीन, आकाश दीपले दुई र प्रदीप्त प्रमाणिकले एक विकेट लिए ।
दोस्रो इनिङ्समा मध्ये प्रदेश खेलको तेस्रो दिनको खेल सकिँदा १६३/२ को अवस्थमा छ । २३१ को अग्रता बनाइसकेको मध्ये प्रदेशका लागि दोस्रो इनिङ्समा रजत पाटिदारले अविजित ६३, कप्तान आदित्य श्रीवास्तव ३४, शुभम शर्माले २२, हिमांशु मन्त्रीले २२ र यश दुबेले १२ रन बनाएका छन् ।
बलिङमा मुकेश कुमार र प्रदीप्त प्रमाणिकले एक/एक विकेट लिएका छन् । पहिलो पारीमा बंगालको टिम २७३ रनमा अलआउट भयो । उसका लागि बंगाल राज्यका खेलकुद मन्त्रीसमेत रहेका मनोज तिवारी र शाहबाज अहमदले शतकीय पारी खेले । तिवारीले २११ बलमा १२ चौकाको सहयोगमा १०२ रनको योगदान दिए ।
शहबाजले २०९ बलमा १२ चौकासहित ११६ रन बनाए । बाँकी ब्यारको प्रदर्शन भने सन्तोषजनक रहन सकेन । मध्ये प्रदेशका लागि कुमार कार्तिकेय, सारांश जैन, पुनित दातेले तीन/तीन र गौरव यादवले एक विकेट लिए ।