काठमाडौं ।
टी-२० सिरिजको चौथो खेलमा भारतले दक्षिण अफ्रिकालाई १७० रनको लक्ष्य दिएको छ । राजकोटस्थित सौराष्ट्र क्रिकेट संघ स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाए । उसका लागि दिनेश कार्तिक र हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले ।
कार्तिकले २७ बलमा ९ चौका र दुई छक्कासहित ५५ रनको पारी खेले । टी–२० अन्तर्राष्ट्रियमा उनको यो उच्च स्कोर हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ४८ रन थियो । त्यस्तै, ३१ बलको सामना गरेका हार्दिकले तीन चौका र तीन छक्का हिर्काउँदै ४६ रन बनाए ।
उनको पनि यो टी–२० अन्तर्राष्ट्रिय करियरकै उच्च स्कोर हो । यसअघि टी–२० मा उनको उत्कृष्ट ब्याटिङ ४२ रन बनाउनु थियो । तेस्रो खेलमा इशान किशन २७, कप्तान ऋषभ पन्त १७, ऋतुराज गायकवाड पाँच र श्रेयस अय्यर चार रनमा आउट भए । त्यस्तै, अक्षर पटेल चार र हर्षल पटेल एक रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका लागि लुंगि एन्गिडीले दुई, ड्वेन प्रिटोरियस, केशव महाराज, एनरिक नोर्टजे र मार्को जेन्सनले एक/एक विकेट हात पारे । पाँच खेलको सिरिजमा पाहुना टोली दक्षिण अफ्रिकाले २–१ को अग्रता बनाएको छ । ऊ पहिलो खेलमा सात र दोस्रो म्याचमा चार विकेटले विजयी भएको थियो ।
तेस्रो खेलमा भने भारत ४८ विकेटले विजयी भयो । आजको खेल जित्न सके दक्षिण अफ्रिकाले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्नेछ । यदि खेल हारेमा सिरिजमा भारतको सम्भावना जीवितै रहनेछ ।
