काठमाडौं ।
इंग्ल्याण्डसँगको एकदिवसीय सिरिजको पहिलो खेल पाहुना टोली इंग्ल्याण्ड २३२ रनले विजयी भएको छ । यो जितसँगै तीन खेलको सिरिजमा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ । नेदरल्याण्ड्सले भने हारबाट सिरिजको सुरुवात गर्यो ।
शुक्रबार राति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको ४ सय ९९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनायो । उसका लागि म्याक्स ओदाउद र स्कट इड्रवासले अर्धशतकीय पारी खेले । ५५ बल खेलेका म्याक्सले दुई चौका र दुई छक्काको मद्दतमा ५५ रन बनाए । त्यस्तै, इड्रवासले ५६ बलमा पाँच चौका र एक छक्कासहित अविजित ७२ रन बनाए ।
बास डी लीडेले २८, टम कूपरले २३, मुसा अहमदले २१, विक्रमजीत सिंहले १३ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । इंग्ल्याण्डका लागि मोइन अलीले तीन, डेविड विली, साम करन, रीसी टोप्लेले दुई/दुई र डेविड मलानले एक विकेट लिए ।
त्यसअघि एम्स्टेलविन वीआरए ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रन बनायो । योसँगै इंग्ल्याण्डले आफ्नै नामको कीर्तिमान तोडेको छ । उसले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो लक्ष्य दिने मामलामा आफ्नै ४८१ रनको लक्ष्य भंग गरेको हो । इंग्ल्याण्डले सो लक्ष्य सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध बनाएको थियो । अब सो विश्वकीर्तिमान इंग्ल्याण्डले चार वर्षपछि तोडेको छ ।
साथै, इंग्ल्याण्डले टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो स्कोर बनाउने रेकर्ड पनि बनाएको छ । नेदरल्याण्ड्सलाई कीर्तिमानी लक्ष्य दिने क्रममा तीन ब्याटरले शतकीय पारी खेले । जोस बटलर, डेविड मलान र फिल साल्टले शतकीय पारी खेलेका हुन् । बटलरले ७० बलको सामना गर्दा १४ छक्का र सात चौकासहित अविजित १६२ रन बनाए । एकदिवसीयमा उनको यो उच्च स्कोर हो ।
त्यस्तै, मलानले १०९ बलमा नौ चौका र तीन छक्कासहित १२५ रनको पारी खेले । त्यस्तै, साल्टले ९३ बलमा १४ चौका र तीन छक्काको मद्दतमा १२२ रनको योगदान दिए । एकदिवसीय अन्तर्राष्ट्रियमा मलान र साल्टको पहिलो शतक हो । जेसन रोय एक र कप्तान इयोन मोर्गन भने शून्यमै आउट भए ।
त्यस्तै, लियाम लिभिङस्टोनले २२ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ६६ रनको आक्रामक पारी खेले । नेदरल्याण्ड्सका लागि पिटर सीलारले दुई, लोगानभान बीक र सेन सान्टनरले एक/एक विकेट लिए । इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको एकदिवसीय सिरिजको दोस्रो खेल १९ जुनमा हुनेछ ।