काठमाडौं ।
भारत र दक्षिण अफ्रिकाले टी–२० सिरिजको पाँचौं तथा निर्णायक म्याच खेल्दैछ । खेल राति ७ः१५ देखि बैंग्लोरस्थित चेन्नइस्वामी स्टेडियममा सुरु हुनेछ । पाँच खेलको सिरिजमा दुवै टिमले दुई/दुई म्याच जितेका छन् ।
पहिलो दुई खेलमा लगातार जित हात पारेको दक्षिण अफ्रिकाले पछिल्लो दुई खेलमा भने निकै खराब खेल्यो । लय गुमाएको दक्षिण अफ्रिका निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज जित्न चाहन्छ । भारत आफ्नो लय कामयै राख्दै दक्षिण अफ्रिकाविरुद्धको ऐतिहासि सिरिज जित्ने लक्ष्यमा छ ।
हालसम्म घरेलु मैदानमा भारतले दक्षिण अफ्रिकाविरुद्धको सिरिज जित्न सकेको छैन । यदि आजको खेल जित्न सके उसले इतिहास रच्नेछ । आजको खेलमा पनि भारत अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिन चाहन्छ । दक्षिण अफ्रिकाको प्लेइङ–११ मा भने केही परिवर्तन देख्न पाइने सम्भावना छ ।
उसले कप्तान तेम्बा बावुमाको स्थानमा रीजा हेन्ड्रिक्सलाई मौका दिन सक्छ । बावुमा अघिल्लो खेलमा घाइते भएका थिए । त्यस्तै, उसले मार्को जेन्सनको स्थानमा वेन पार्नेललाई खेलाउने सम्भावना छ । त्यस्तै, स्पिनर तरबिज शम्सीको स्थानमा कागिसो रबाडाको कमब्याक हुनसक्छ । शम्सीले जारी सिरिजमा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् ।
दक्षिण अफ्रिकाको सम्भावित–११ : क्विन्टन डीकक, रिजा हेन्ड्रिक्स रस्सीभानडर दुसेन, डेविड मिलर, हेनरिक क्लासेन (विकेटकिपर), ड्वेन प्रिटोरियस, मार्को जेन्सेन/वेन पार्नेल, कागिसो रबाडा, केशव महाराज, एनरिक नोर्टजे र लुंगी एनगिडी ।
भारतको सम्भावित–११ : इशान किशन, ऋतुराज गायकवाड, श्रेयस अय्यर, ऋषभ पन्त (कप्तान/विकेटकिपर), हार्दिक पाण्ड्या, दिनेश कार्तिक, अक्षर पटेल, हर्षल पटेल, आवेश खान, भुवनेश्वर कुमार र युजवेन्द्र चहल ।