काठमाडौं ।
एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा बहराइनको सामना गर्दैछ । खेल मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार बिहान सवा आठ बजे सुरु हुनेछ ।
नेपाल आज बहराइनलाई पराजित गर्दै लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले हराएको थियो ।
बहराइन पनि नेपाललाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ । यसअघि बहराइनले कुवेतसँगको खेल बिना नतिजा टुंग्याउँदा हङकङसँग आठ विकेटको पराजय बेहोरेको थियो । समूह ‘बी’ मा रहेको नेपाल दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा रहँदा बहराइन समान खेलबाट एक अंकका साथ चौथो स्थानमा छ ।
इंग्ल्याण्डलाई नेदरल्याण्ड्सको कडा टक्कर, निकाल्न दिएन फराकिलो जित
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा इंग्ल्याण्डले घरेलु टोली नेदरल्याण्ड्समाथि ६ विकेटको जित निकालेको छ । गएराति सम्पन्न खेलमा जित निकालेसँगै उसले तीन खेलको सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । २ सय ३६ रनको लक्ष्य इंग्ल्याण्डले ३६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
उसको जितमा फिल साल्टले र जेसन रोयले अर्धशतकीय पारी खेले । साल्टले ५४ बलमा नौ चौकासहित ७७ रन बनाए । ७३ रन जोडेका रोयले ६० बलमा १३ चौका र एक छक्का प्रहार गरे । अविजित रहेका मोइन अलीले ४२ र डेविड मलानले ३६ रनको योगदान दिए ।
नेदरल्याण्ड्सका लागि आर्यन दत्तले दुई, टिम प्रिन्गल र टोम कूपरले एक/एक विकेट हात पारे । त्यसअघि भिआरए मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४१ ओभरमा सात विकेट गुमाउँदै २३५ रन बनायो ।
उसका लागि कप्तान स्कट एडवार्ड्सले ७३ बलमा चार चौका र तीन छक्कासहित ७८ रनको पारी खेले । बास डि लिडेले ३४ र लोगान भान बिकले अविजित ३० रन जोडे ।
इंग्ल्याण्डका लागि आदिल राशिद र डेविड विलीले दुई/दुई, ब्रायडन कार्से र लियाम लिभिङ्गस्टोनले एक/एक विकेट लिए । यो जितसँगै इंग्ल्याण्डले सिरिजमा २–० को अग्रता लिएको छ । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।