काठमाडौं ।
नेपाली महिला क्रिकेट टोली मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइलाई ८ विकेटले हराउँदै नेपाल लगातार तेस्रो जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
बहराइनले दिएको १५ रनको विजयी लक्ष्य नेपालले ३.४ओभरमा २ विकेट गुमाएर भेट्टायो । योसँगै नेपालले इतिहास रचेको छ । नेपालले च्याम्पियनसिपमा लगातार तेस्रो जित निकाल्दै इतिहास रचेको हो ।
त्यसअघि मलेसियाको किनरारा ओभलमा टस हारेको बहारइनले ६ विकेटको क्षतिमा १४ रन बनायो । वर्षाले प्रभावित भएको खेल ७ ओभरमा छोट्याइएको हो । बहराइनका लागि इशाना सुहानको ६ रन नै सर्वाधिक रह्यो । बहराइनलाई सस्तैमा समेटन कविता कुँवर र अस्मिना कर्माचार्यले २/२ विकेट लिए भने सवनम राईले एक विकेट लिइन् ।
समूह ‘बी’ को नेपाल तीन खेलबाट ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । बहराइन ३ खेलमा १ अंक जोडेर चौथो स्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।
नेपालले अन्तिम खेलमा भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी रहेको च्याम्पियनसिपमा फाइनलमा पुग्ने दुई टोलीले महिला टी–२० एसिया कप क्रिकेटमा स्थान बनाउने छन् ।