एन्फा अध्यक्षमा विजयीपछि अल्मुताइरी र १० खेलाडीबारे यस्तो भन्छन् नेम्वाङ

Image

काठमाडौं ।

पंकजविक्रम नेम्वाङकाे नेतृत्वमा आगामी चार वर्षका लागि अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ कार्यसमिति चयन भएकाे छ । संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा २१ सदस्यीय कार्यसमितिमा चयन भएका १९ मध्ये १२ नेम्वाङ तथा सात निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलका छन् ।

दुई खुल्ला सदस्यकाे टुङ्गाे भने पछि लाग्नेछ । अध्यक्षमा नेम्वाङ निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका वीरबहादुर खड्काले जित हात पारे । नेम्वाङले शेर्पा तथा खड्काले शिक्षित पराजुलीलाई पराजित गरेका हुन् ।उपाध्यक्षमा नेम्वाङ प्यानलका दावा लामा, दीपक खतिवडा, विराटजंग शाही तथा शेर्पा प्यानलका दीर्घबहादुर केसी निर्वाचित भए । महिला सदस्यमा भने दुवै प्यानलका एक/एक उम्मेदवार विजयी भए ।

नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ र शेर्पा प्यानलकी पेमा डोल्मा लामा विजयी भएका हुन् । १३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । जसमा नेम्वाङ प्यानलका ६ तथा शेर्पा प्यानलका ५ जना विजयी भएका छन् । चार उम्मेदवारले समान ३९ मत प्राप्त गरेपछि दुई सदस्यको टुङ्गो लागेको छैन । एन्फाको विधानअनुसार आजै पुन: निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको टुङ्गाे विशेष साधारण सभाबाट लगाइने भएकाे छ ।

शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ प्यानलका दीपेन्द्र धिमालले समान मत प्राप्त गरेका हुन् । खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री र पुरुषोत्तम थापा नेम्वाङ प्यानलका हुन् । मनिष जोशी, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ्थापा शेर्पा प्यानलका हुन् ।

प्रशिक्षक र खेलाडीबारे के भन्छन् नेम्वाङ?

नवनिर्वाचित अध्यक्ष नेम्वाङले खेलाडी र प्रशिक्षकको विवादको पहिलो बैठकबाट निर्णय गर्ने बताएका छन् । उनले छानविनको समितिको प्रतिवेदनमा बृहत छलफल गरेर समस्या समाधान गर्ने पनि बताए । ‘खेलाडी र प्रशिक्षकको विवादको पहिलो बैठकबाट हामी निर्णय गर्छौं । छानविनको समितिको प्रतिवेदन छ । त्यसमा बृहत छलफल गर्छौं । हामी सबैसँग छलफल गरेर त्यो समस्या समाधान गर्छौं,’ नेम्वाङले भनेका छन् ।

एन्फा नेतृत्वमा नेम्वाङ आएपछि अलमुताइरीले गरे नेपाल नफर्कने संकेत

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका छन् ।  सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताइरीले सामाजिक सञ्जालमार्फत् मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिने संकेत गरेका हुन् ।

सोमबार नेम्वाङ निर्वाचित भएपछि इन्स्टाग्राममा स्टोरी राख्दै उनले नेपाल नफर्किने संकेत गरेका हुन् । यद्यपि उनले उक्त पोस्ट केही समयपछि हटाएका छन् । गत वर्ष साउनमा उनले नेम्वाङको कारण आफूले राजीनामा घोषणा गरेको बताएका थिए ।