काठमाडौं ।
एसिसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले पहिलो पराजय बेहोरेको छ । नेपाल आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा हङकङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको ११० रनको लक्ष्य हङकङले १५.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
उसका लागि मारिको हिलले ३२ बलमा नौ चौकासहित सर्वाधिक ४५ रनको योगदान दिइन् । नताशा माइल्सले अविजित २८ र कप्तान केरी चानले १७ रन जोडे । यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३६ बलमा ४ चौकासहित अविजित रहदै ३२ रनको योगदान दिइन् । विन्दु रावलले २३ र अप्सरी बेगमले अविजित २२ रन बनाए । हङकङका बेट्टी चानले दुई तथा एलिसा हुब्राड र मार्यम बिबीले एकरएक विकेट लिए ।
यो हारसँगै चार खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल समूह ‘बी’ को दोस्रो स्थानमा झरेको छ । यदि आज जित निकालेको भए नेपाल समूह विजेताको रूपमा सेमिफाइनल पुग्ने अवसर थियो । तर, यो हारसँगै नेपाल उपविजेताको रूपमा सेमिफाइनल पुग्नेछ ।
योसँगै यसपालि पनि समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने नेपालको सपना अधुरै रह्यो । यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले तथा बहराइनलाई आठ विकेटले हराएको थियो । यो जितसँगै आफ्नो विजयी यात्रालाई कायम राखेको हङकङ तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हङकङले यसअघि भुटानलाई १४ तथा बहराइनलाई आठ विकेटले हराएको थियो । नेपाल शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्न अन्तिम खेलमा हङकङ कुवेतसँग फराकिलो अन्तरले पराजित हुनुपर्छ । हङकङ विजयी भएमा नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल खेल्नेछ ।