काठमाडौं ।
बंगलादेशका पूर्वखेलाडी तथा बंगलादेश क्रिकेट बोर्ड निर्देशक अक्रम खानले खेलाडीले दबाबलाई सम्हाल्न सक्षम हुनुपर्ने र यसले मानसिक दबाब कम गर्न मद्दत गर्छ भने मिडियाबाट टाढा रहनुपर्ने बताएका छन् । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा पराजय भोगेपछि खानले यस्तो सुझाव दिएका हुन् ।
मानसिक पक्षमा सुधार गर्नुपर्ने उनको भनाइ छ । ‘धेरै दबाब लिँदा बाधा पुग्छ । यही मानसिकता लिएर मैदानमा जानुभयो भने त्यस्तो हुँदैन । मलाई लाग्छ कि खेलाडीहरूले आफ्नो हितको लागि मिडियाबाट टाढा रहनुपर्छ,’ खानले भने, ‘भारत च्याम्पियन हुनुभन्दा एक वर्षअघिसम्म मैले उनीहरूका कुनै खेलाडीलाई मिडियामा देखेको थिइनँ । यदि तपाईंले राम्रो गर्नुभयो भने मिडियाले तपाईंको बारेमा सकारात्मक रूपमा लेख्नेछन् । तर, प्रदर्शन गर्न नसकेमा यस्ता समाचार पढ्दा मानसिक दबाब बढ्न सक्छ । क्रिकेटर मिडियाबाट टाढा रहनुपर्छ ।’
टेस्ट कप्तान शकिब अल हसनले बंगलादेशका ब्याटरमा प्राविधिक समस्या रहेको र त्यो असफल हुनुको एउटा कारण भएको स्वीकार गरे । पहिलो टेस्टमा बंगलादेशका ब्याटरले वेष्ट इण्डिजका बलरको सामना गर्न सकेनन् । शाकिबले अर्धशतक बनाए पनि अन्य ब्याटर फ्लप भए ।
उल्लेखनीय कुरा के छ भने बंगलादेश टोलीको प्रदर्शन लगातार खराब रहँदै आएको छ । वेष्ट इन्डिज भ्रमणमा जानुअघि उसले घरेलु टेष्ट सिरिजमा श्रीलंकासँग पनि हार बेहोरेको थियो । बंगलादेशलाई १–० ले पराजित गर्दै श्रीलंकाले सिरिज जितेको हो । त्यसपछि मोमिनुल हकले कप्तानबाट राजीनामा दिए । अहिले बंगलादेशी टेष्ट टिमको कप्तानमा शाकिबलाई चयन गरिएको छ ।