काठमाडौं ।
एसीसी महिला टी–२० च्याम्पियनसिपमा भुटानले बहराइनलाई ६३ रनले हराएको छ । बुधबार मलेसियाको बाङ्गस्थित क्रिकेट ओभलको मैदानमा भएको खेलमा भुटानले यति फराकिलो जित हात पारेको हो । बहराइनमाथि भुटानको यो हालसम्मकै फराकिलो जित हो । भुटानले प्रतियोगितामा चारमध्ये एकमा जित र तीन खेलमा हार बेहोर्यो ।
समूह ‘बी’ मै रहेको बहराइनले चारमध्ये तीनमा हार र एक खेलमा अंक बाँड्यो । आफ्नो अन्तिम खेलमा भुटानले दिएको १२७ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो । उसका लागि थरंगा गजनायकेले सर्वाधिक ३० रन बनाइन् ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा भुटानका लागि अञ्जु गुरुङले शानदार प्रदर्शन गरिन् । चार ओभरमा उनले सात रन मात्र दिएर सर्वाधिक दुई विकेट लिइन् । अनु नेपालीमूलकी भुटानी खेलाडी हुन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १२६ रन बनायो । उसका लागि देचेन वाङ्मोले ५२ बलमा तीन चौका र एक छक्कासहित अविजित६४ रन बनाइन् । छिरिङ जाङ्मो २८ र नाङवाङ छोडेन २८ रनमा आउट भए । बहराइनका लागि प्रज्ञा जगदीशाले एक विकेट लिइन् ।
विराट र रोहितदेखि रिसायो बीसीसीआई, लिनसक्छ ‘एक्सन’
इंग्ल्याण्डविरुद्धको सिरिजका लागि भारतीय टोली अहिले इंग्ल्याण्डमा छ । म्याच सुरु हुनुअघि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र विराट कोहली अहिले घुमघाममा व्यस्त छन् । उनीहरूका केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल पनि भइरहेका छन्, जसका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) आक्रोशित भएको छ ।
भारत र इंग्ल्याण्डबीच जुलाई १ देखि १७ जुलाईसम्म एक टेष्ट, तीन टी–२० र तीन एकदिवसीय शृंखला हुनेछ । सिरिज सुरु हुनुअघि रोहित र विराट लण्डनको सडकमा घुमिरहेका देखिएका छन् । यस क्रममा उनीहरूले मास्क नलगाई फ्यानसँग फोटो पनि खिचे । अहिले रोहित र विराटको यो कार्यबाट बिसिसिआई रिसाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
टोलीका सिनियर खेलाडीको यो कार्यबाट बोर्ड आक्रोशित छ । र, छिट्टै दुवै स्टारलाई बोर्डबाट चेतावनी मिल्ने सम्भावना बढेको छ । बिसिसिआई कोषाध्यक्ष अरुण धुमालले इनसाइडस्पोट्ससँग भनेका छन्, ‘इंग्ल्याण्डमा कोरोनाको कम जोखिम भए पनि खेलाडीहरु बढी होसियार हुनुपर्छ । हामी टोलीलाई थोरै होसियार हुन आग्रह गर्नेछौं । रोहित र विराटले मास्क नलगाई किनमेल गरेको खबर पनि आएको छ ।’
गत वर्ष कोरोनाका कारण रद्द भएको पाँचौं टेस्टको पूर्ति गर्न यसपालि एक मात्र टेस्ट खेलाइनेछ । यस्तो अवस्थामा बिसिसिआई खेलाडीलाई कुनै पनि किसिमको छुट दिन चाहँदैन । बेलायतमा दैनिक १० हजारभन्दा बढी कोभिड–१९ संक्रमित भेटिरहेका बताइएको छ । इङ्ल्यान्डमा कोरोनाको केस बढेपछि बिसिसिआईले खेलाडीलाई कुनै समस्या नहोस् भनेर सचेत गराएको छ ।