कठमाडौं ।
भरतीय पुरुष फुटबल टोलीले फिफा वरियतामा सुधार गरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा भारतले दुई स्थान सुधार गरेको हो । अब भारत वरियताको १०४ औं स्थानमा उक्लिएको छ । यसअघि ऊ १०६ औं स्थानमा थियाे ।
हालै सम्पन्न एसियन कप छनोटमा भारत समूह विजेता बनेको थियो । सो प्रतियोगिताको जितका कारण भारतले वरियतामा पनि सुधार गर्न सफल भयो । नयाँ वरियतामा नेपाल एकैपटक आठ तल खस्किएको छ । ९५०.४५ अंक प्राप्त गरेको नेपाल १७६ औं स्थानमा छ । अघिल्लोपटक नेपाल १६८ औं स्थानमा थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरियताको तेस्रो स्थानमा छ ।
नेपालभन्दा अघि भारत १०४ औं र माल्दिभ्स १५६ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १८६, बंगलादेश १९२, पाकिस्तान १९६ र श्रीलंका २०७ औं स्थानमा छन् । ब्राजिल १८३७.५६ अंकका साथ नयाँ वरियताको शीर्ष स्थानमा छ । बेल्जियम, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, स्पेन , इटाली, नेदरल्याण्ड्स, पोर्चुगल र डेनमार्क क्रमशः दोस्रो देखि दशौं स्थानमा छन् ।
भारतीय टोलीमाथि इटालीले गर्यो गोलको वर्षा
महिला फुटबल प्रतियोगिताअन्तर्गत इटालीसँग भारत यू–१७ महिला टोली ०–७ गोल अन्तरले पराजित भएको छ । गएराति भएको खेलमा भारतले इटालीविरुद्ध फराकिलो हार बेहोरेको हो । खेलमा पहिलो हाफमा इटालीले ३ र दोस्रो हाफमा ४ गोल गर्न सफल भयो ।
इटालीले खेलको ११ औं मिनेटमा मारिया रसीको गोलबाट अग्रता लिएको थियो । त्यस्तै, इटालीले ३१ औं र ३३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै आफूलाई बलियो अवस्थामा ल्यायो । दोस्रो हाफमा थप ४ गोल गर्दै इटालीले फराकिलो जित निकाल्न सफल भयो ।
भारतीय टोली : मोनालिसा देवी, अस्तम ओराँओ (कप्तान), काजल (सुधा अंकिता टिर्की), नकेता, पूर्णिमा कुमारी, वर्षाका, नितु लिन्डा (नेहा), शैलजा (पिंकु देवी), अनिता कुमारी (शुभांगी सिंह), काजोल डिजौजा (बबिना देवी) र बिजो (रजिया देवी लैश्राम) ।