काठमाडौं।
क्यानाडा भ्रमणमा रहेको नेपालले आइतबार दोस्रो अभ्यास खेल खेलिरहेको छ। नेपालले आज क्यानडाको ओन्टारियो क्रिकेट क्लबसँग प्रतिस्पर्धा गरिरहेको हो।
टी–२० फर्म्याटको दोस्रो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई २ सय १० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनायो।
नेपालका लागि रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले। रोहितले मात्र ३१ बलमा ५ चौका र ५ छक्काको मद्दतमा अविजित ७१ रन बनाए।

यस्तै, दीपेन्दले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनको योगदान दिए। पवन सर्राफ ३७, देव खनाल २०, कुशल भुर्तेल २ रनमा आउट भए।
शुक्रबार राति नेपालले ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो। क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेल खेलिरहेको हो। नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ५ र दोस्रो एकदिवसीय जुलाई ६ मा हुनेछ। त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ।
