काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको हो । एकदिवसीय फर्म्याटको पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।
नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो । उसका लागि भरुण सेहदेबले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए ।
नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले ।
रोहितले अविजित ७१ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका उनले ३१ बलमा ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै दीपेन्द्रले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनको योगदान गरे । पवन सर्राफले ३७ तथा देव खनालले २० रन जोडे । कुशल भुर्तेल २ रनमा आउट हुँदा आदील आलमले अविजित १० रन बनाए ।
ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले १/१ विकेट लिए । क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो । अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ५ र दोस्रो एकदिवसीय जुलाई ६ मा हुनेछ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।
नेपालको खेल तालिका
असार २१ (जुलाई ५) – नेपालविरुद्ध क्यानाडा, पहिलो एकदिवसिय खेल, असार २२ (जुलाई ६) – नेपालविरुद्ध क्यानाडा, दोस्रो एकदिवसिय खेल
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल, असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया, साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
अंक तालिका
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।