खराब ब्याटिङका कारण क्यानडाविरुद्ध नेपालको लज्जास्पद हार

Image

काठमाडौं ।

घरेलु टोली क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले हार व्यहोरेको छ । किङ सिटी स्टेडियममा बुधबार राति नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो । नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन जोडे । विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रनमा आउट भए ।

कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता नखोल्दै पेभेलियन फर्किए ।

क्यानडाका अमर खालीद, सलमान नजर,रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो ।

क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय इनिङ खेले । आरोन जोनसनले ४४ रन जोड्दा अमर खालीदले अविजित ३० रन बनाए । उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे ।

नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । दिपेन्द्रले २ तथा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमले १/१ विकेट लिए । नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । तर, पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो। अब नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका: असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल, असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया, साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड ।

अंक तालिका : ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।