Khabar Board
Flash logo up side
flash header

नेपाल टी–२० लिग भारतीय कम्पनीलाई दिएको विषयमा अख्तियारले थाल्यो अनुसन्धान

Nirbachan m

काठमाडौं।

नेपाल क्रिकेट संघ (क्यान) ले बिनाप्रतिस्पर्धा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी-२० लिग आयोजनाको अधिकार दिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ। ‘भारतको सेभेन थ्री स्पोर्ट्सलाई गैर-कानुनीरूपमा बिनाप्रतिस्पर्धा टी-२० क्रिकेट लिग संचालन गर्न अनुमति दिएको’ भन्दै गत वैशाख २६ गते अख्तियारमा बेनामी उजुरी परेको थियो।

यो विषयमा अनुसन्धान गरिरहेको अख्तियारका सह-प्रवक्ता वेदप्रसाद भण्डारीले सेतोपाटीलाई जानकारी दिए। ‘यो विषय छानविनमा प्रवेश गरिसकेको अवस्था छ। निश्चित समय तोकेर अनुसन्धान हुन्छ। अनुसन्धानले कस्तो मोड लिन्छ त्यहीँअनुसार अघि बढ्ने हो,’ भण्डारीले भने।

अख्तियारले छानविनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितलाई सोधपुछ गरिसकेको छ। केही दिनअघि विस्तृत अनुसन्धानका लागि अनुसन्धान अधिकृत तोकिएको अख्तियार स्रोतको दाबी छ। आयोगका प्रमुख अयुक्त तथा सम्बन्धित आयुक्तको रेखदेखमा अनुसन्धान अधिकृतले काम अघि बढाउनेछन्।

अख्तियार अनुसन्धान आयोगको ऐनको दफा २० मा अनुसन्धान अधिकृत नियुक्त गर्न सकिने व्यवस्था छ। त्यहीँ व्यवस्थाअनुसार क्यानमाथि छानविनको काम अब अनुसन्धान अधिकृतले अघि बढाउनेछन्। अनुसन्धान अधिकृतले क्यानका सबै बोर्ड सदस्यसँग यो विषयमा बयान लिन सक्नेछन्।

अनुसन्धानपश्चात् अनुसन्धान अधिकृतले अख्तियारको नियमावलीको नियम २३ अनुसार संकलित सबूद प्रमाण र त्यसबाट देखिएको यथार्थ विवरण विश्लेषण गरी आफ्नो राय सहितको प्रतिवेदन आयोगसमक्ष पेश गर्नुपर्नेछ। त्यसपछि अख्तियारले दोषी पाएमा मुद्दा दायर गर्न सक्नेछ।

पछिल्लो समय विवादित बन्दै गएको नेपाल टी-२० लिगको विषयमा प्रतिनिधिसभाको बैठकमा समेत कुरा उठेको थियो। गत असार १२ गते संसदको विशेष समयमा बोल्दै नेकपा एमालेका संसाद गोकुल बास्कोटाले टी-२० लिगको सम्झौता खारेज गर्न माग गरेका थिए।

Center article

लगत्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफूहरूले कुनै गैरकानुनी काम नगरेको भन्दै स्पष्टीकरण दिएका थिए। क्रिकेटरको विदाई कार्यक्रमका दौरान उनले नेपाली क्रिकेटको विकासका लागि काम गरेको भन्दै ‘बिचौलिया’ ले विवाद झिकेको आरोप लगाएका थिए।

क्यानले नेपाल टी-२० लिगको व्यपारिक र रणनीतिक साझेदारको रूपमा भारतको सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको थियो।

क्यानले पहिलोपटक गरेको सम्झौताअनुसार काम नभएको भन्दै सेभेन थ्रीसँग सम्झौता प्रक्रिया अघि नबढाउने निर्णय गरेको थियो। तर फेरि क्यानले आफ्नै निर्णय उल्टाउँदै सेभेन थ्रीसँगको सम्झौता अघि बढाएको थियो।

नेपाल टी-२० लिग आगामी असोजमा गर्ने क्यानको भनाइ छ। क्यानले नेपाल टी-२० लिगलाई देशको एक मात्र आधिकारीक लिग बनाउने भन्दै अन्य फ्रेञ्चाइज लिगलाई राष्ट्रिय मान्यता भने नदिने बताइसकेको छ। अन्य लिगलाई क्षेत्रीय लिगको मान्यता दिन भने सोच्न सकिने क्यानको भनाइ छ।

यसअघि काठमाडौंमा एभरेस्ट प्रिमियर लिग, पोखरामा पोखरा प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग सञ्चालन हुँदै आएका थिए। तीनै लिग क्यान निलम्बनको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट अनुमति लिएर सञ्चालन भएका थिए। अहिले भने कुनै पनि लिग सञ्चालन गर्न क्यानको अनुमति लिन अनिवार्य छ।

तर एभरेस्ट प्रिमियर लिग भने आफूलाई मान्यता दिने पर्ने माग राख्दै आएको छ। क्यानबाट प्रतियोगिता सञ्चालन गर्न अनुमति नपाएपछि एभरेस्ट प्रिमियर लिगले सर्वोच्चमा दर्ता गराएको मुद्दा विचाराधिन छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.