नेपालले आज नामिबियाको सामना गर्दै, यस्तो छ सम्भावित प्लेइङ–११

Image

काठमाडौं ।

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार पहिलो खेल खेल्दैछ ।

नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन ।

नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।

सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो । क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो ।

लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भर्तेल, आसिफ शेख,सोमपाल कामी र सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, देव खनाल, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी ।