काठमाडौं ।
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार पहिलो खेल खेल्दैछ । नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ । नेपाल र नामिबियाबीचको खेल युट्युबमा फ्यानकोड (FanCode) बाट हेर्न सकिनेछ ।
नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन ।नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।
सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो । क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो । लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।
नामिबियाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : कुशल भर्तेल, आसिफ शेख,सोमपाल कामी र सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, देव खनाल, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी ।
नामिबियाविरुद्ध नेपाल : हेड टु हेड : नेपाल र नामिबिया एकदिवसीयमा पाँच पटक आमने सामने भएका छन् । जसमा नेपाल चार पटक विजयी भएको छ । नामिबिया एक खेलमा विजयी भएको छ । पहिलो पटक सन् २००१ मा आईसीसी ट्रफीमा नेपालले नामिबियासँग खेलेको थियो । क्यानडामा खेलिएको उक्त खेलमा नेपाल आठ विकेटको फराकिलो अन्तरमा पराजित भएको थियो । यस खेलमा नेपालका जय सरार्फले ४७ रन बनाएका थिए ।
दोस्रो पटक सन् २०१५ मा दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । आईसीसी लिग डिभिजन टूमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जुन भेट दुई टोलीबीच १४ वर्षपछिको थियो । त्यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । नामिबियामा भएको खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले ६४ रन बनाएका थिए ।
तेस्रो पटकको भेट सन् २०१५-१७ सम्म चलेको विश्व क्रिकेट च्याम्पियनसिपमा भएको थियो । सन् २०१७ मा दुई खेल नेपालमा भएको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । पछिल्लो पटक सन् २०१८ मा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । नामिबियामा नै भएको त्यस खेलमा नेपालले १ विकेटको रोमान्चक जित निकालेको थियो ।
तर, अहिलेको अवस्था फरक रहेको छ । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर डेबिड विजेको आगमनसँगै नामिबिया आक्रामक शैलीमा गएको छ । यसकारण नामिबिया नेपालका लागि धेरै नै बलियो प्रतिद्वन्दी बनेको छ ।













